कतिपय स्वास्थ्य समस्यालाई आफ्नो बानी–व्यवहारमा परिवर्तन एवम् सुधार गरेमा नियन्त्रणमा राख्न सकिन्छ । प्राणघातक रोग क्यान्सरजस्तो स्वास्थ्य समस्याबाट बच्न, नियन्त्रण गर्न र यसबाट हुने जटिलतालाई व्यवस्थापन गर्न पनि आफ्नो दैनिक बानी–व्यवहारमा परिमार्जन गर्न सक्नुपर्छ । हुन त यो रोग लाग्नुको कुनै निश्चित कारण छैन, तर पनि वंशाणु, संक्रमण, वातावरणीय प्रभाव, जीवनशैलीजस्ता कुराहरुलाई प्रमुख कारणका रुपमा लिइएको छ । जीवनशैलीमा पनि मद्यपान, धूमपान, शारीरिक क्रियाशीलताको कमी, अस्वस्थकर भोजनजस्ता कुराहरु पर्दछन् । यस्ता जीवनशैलीसम्बन्धी कुराहरुमा परिर्वतन एवम् सुधार ल्याउन सकेमा अर्थात् मद्यपानमा नियन्त्रण, धूमपानमा रोक, शारीरिकरुपले सक्रिय हुन सकेमा केही हदसम्म रोग लाग्न नदिने र लागेको छ भने व्यवस्थापन गर्न सकिन्छ । झन्डै ५० प्रतिशत जति क्यान्सर अस्वस्थकार र असन्तुलित खानाको कारणबाट नै हुने गर्दछ ।

ठूलो आन्द्रा, पेट, स्तन, खानाको नली, प्रोस्टेट, गुदद्वारजस्ता विभिन्न अंगको क्यान्सरमा अस्वस्थकर भोजन भएको कुरा अध्ययनले देखाएको छ । खाना एउटा यस्तो माध्यम हो, जसबाट शरीरले आवश्यक पौस्टिक तत्त्वहरु प्राप्त गर्न सक्छ । तर खानाबाटै शरीरमा नकारात्मक असर पार्ने तत्त्वहरु पनि प्राप्त हुन्छ भन्ने कुरालाई बिर्सनुहुँदैन । खानाबाट प्राप्त हुने कतिपय पौष्टिक तत्त्वले क्यान्सर हुनबाट बचाउन मद्दत पुर्याएको हुन्छ । तर खानामा यस्ता तत्त्वहरु पनि हुन सक्छन् जुन शरीरका लागि आवश्यकताभन्दा बढी भएमा क्यान्सरको विकासमा टेवा पुर्याउने हुन्छ ।

खानाबाट प्राप्त हुने फाइबर, उचित मात्रामा प्राप्त हुने भिटामिन ‘ए’, ‘सी’, फाइटोकेमिकल, प्रोटिनले विभिन्न प्रकारका क्यान्सर हुनबाट बचाउँछ । खानाबाट आवश्यक मात्रामा फाइबर प्राप्त गर्न सकेमा पाचन प्रणालीमा सकारात्मक प्रभाव परी यो प्रणालीसँग सम्बन्धित अंगहरु स्वस्थ रहन मद्दत पुग्छ । यसै गरी ठीक परिमाणको भोजनबाट प्राप्त हुने भिटामिन ‘सी’ले पेट तथा खानाको नलीमा हुने क्यान्सरबाट बचाउँछ । भिटामिन ‘ए’ र क्यारोटिन (भिटामिन ‘ए’को प्रारम्भिक स्वरुप)ले फोक्सो, पिसाब थैली र स्वरनलीमा हुने क्सान्सरबाट बचाउँछ । त्यस्तै खानाबाट प्राप्त हुने फाइटोकेमिकलले क्यान्सरलाई टेवा पुर्याउने तत्त्व ऋबचअष्लयनभलष्अ बनभलत को विरुद्ध कार्य गरी रोग हुनबाट बचाउँछ । उचित प्रकारको र ठीक मात्रामा प्राप्त प्रोटिनले रोग–प्रतिरोधात्मक शक्ति बढाउँछ । चिल्लो पदार्थमा रहेको ओमेगा ३ फ्याटी एसिडले कोषहरु स्वस्थ राख्न मद्दत पुर्याउँछ । यसप्रकार एकातिर खाद्यपदार्थमा रहेका पौष्टिक तत्त्वहरुको उचित उपभोगले क्यान्सरबाट बच्न मद्दत पुर्याउँछ भने खानामा भएका केही तत्त्वको निरन्तर र बढी उपभोगले रोगको लागि थप उचित वातावरण मिल्न सक्छ । जस्तै– चिल्लो पदार्थमा भएका महत्त्वपूर्ण फ्याटी एसिडले शरीरका कार्य सूचारु राख्न मद्दत पुर्याउँछ भने सोही चिल्लो पदार्थमा भएका अतृप्त फ्याटी एसिडको बढ्दो र निरन्तर उपभोगले स्तन, ठूलो आन्द्रा प्यान्क्रियाज, प्रोस्टेट आदिको क्यान्सरको सम्भावना बढाउने कुरा जनावरमा गरिएको अध्ययनले देखाएको छ ।

क्यान्सर भइसकेको स्थितिमा पनि दैनिक खाना तथा त्यसबाट प्राप्त हुने पौष्टिक तत्त्वको आवश्यकतामा विशेष ध्यान पुर्याउनुपर्छ । साधारणतया क्यान्सर पहिचान भएका १० व्यक्तिमध्ये ४ मा शरीरको तौल घट्ने समस्या हुन्छ । एकातिर रोगको कारण मानसिक तनाव, अपनाइरहेको उपचार विधि, पाचन प्रणालीमा गडबडी एवम् अन्य शारीरिक कारणले गर्दा बिरामीको खानाप्रति रुचि नहुने हुन्छ भने अर्काेतिर मांसपेशी–तन्तु क्रमिकरुपमा ह्रास हुनाले शरीरको तौल घट्ने, कमजोर हुने, कुपोषणजस्ता समस्या हुन सक्ने भएकाले बिरामीको दैनिक खानाको व्यवस्थापनमा विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

यस्तो स्थितिमा बिरामीलाई बढी क्यालोरी तथा बढी प्रोटिन प्राप्त हुने भोजनको व्यवस्था गर्नुपर्छ । रोगका कारण मेटाबोलिजम दर बढ्ने हुनाले नष्ट भएका तन्तुहरु बनाउन तथा खेर गएका पौष्टिक तत्त्वहरुको पूर्ति गर्न बढी क्यालोरी–प्रोटिनको आवश्यक पर्ने हुन्छ । बिरामीले बढी क्यालोरी–प्रोटिन भएको भोजन प्राप्त गर्न सकेको खण्डमा र त्यो उपभोग गर्न सकेको स्थितिमा उपचारमा सकारात्मक प्रभाव पर्नुको साथै तौल ठीक राख्न अथवा घट्नबाट बचाउँछ । बिरामीको अवस्था हेरी ४५ देखि ५० क्यालोरी प्रतिकिलो शरीरको तौल आवश्यक हुन्छ । यसै गरी प्रोटिन १ देखि २ ग्राम प्रतिकिलो तौल आवश्यक हुन्छ । बिरामी कुपोषित छन् भने १.३ देखि २.० ग्राम प्रतिकिलो तौल प्रोटिन आवश्यक हुन्छ । यस अवस्थामा भोजनको व्यवस्था गर्न धेरै गाह्रो हुन्छ । किनकि एकातिर बिरामीलाई थप पौष्टिक तत्त्वको आवश्यक हुन्छ भने अर्काेतिर खानाप्रति रुचि पटक्कै हुँदैन । यस्तो स्थितिमा बिरामीको अवस्था हेरी उपचार ९ऋजझयतजभचबउथ० गर्नुअगाडि तथा पछाडि कति समयको फरकमा कस्तो प्रकारको खाना दिँदा उपयुक्त हुन्छ भन्ने कुरामा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । यसबाहेक भोजनको व्यवस्था गर्दा पत्यक्षरुपमा बिरामीको रुचि र अरुचिको जानकारी राखी उपयुक्त पकाउने विधि अपनाएर आकर्षक ढंगले पस्किनमा समेत ध्यान दिनुपर्ने हुन्छ ।
उपचारको क्रममा देखिने समस्या र त्यसलाई हटाउन वा न्यूनीकरण गरी आवश्यक पौष्टिक तत्त्वहरु प्राप्त गर्न केही कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ । यो रोगको उपचार औषधि तथा शल्यक्रिया भए तापनि स्वस्थकर एवम् सन्तुलित भोजन पनि उपचारको एक अंगको रुपमा लिनुपर्छ ।

क्यान्सरविरुद्ध लड्न खाना र पोषण

स्वस्थकर र सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ ।

भोजनमा प्रशस्त ताजा फलफूल र विभन्नि रंगका सागसब्जी समावेश गर्नुपर्छ ।

शारीरिक रुपले सक्रिय रही शरीरको तौल ठीक राख्नुपर्छ ।

भोजनमा चिल्लो र चिल्लो खाद्यपदार्थको परिमाण कम गर्नुपर्छ ।

फाइबरयुक्त खादपदार्थ भोजनमा समावेश गर्नुपर्छ ।

पशुजन्य खाद्यस्रोतको परिमाण कम गर्नुको साथै मासु खाएमा स्वस्थकर ताजा मासु र त्यसको परिकार छनोट गरी भोजनमा समावेश गर्नुपर्छ ।

उपयुक्त पकाउने विधिको छनोट गर्नुपर्छ ।

खाना पकाउँदा तेलमा तार्ने, चर्को आगोमा पकाउने अथवा सेक्नेभन्दा थोरै तेल प्रयोग गरी उमालेर, बफाएर पकाउँदा खाद्यपदार्थमा भएको तेल तथा चिल्लो पदार्थ ऋबचअष्लयनभलष्अ तत्त्वमा परिणत हुन पाउँदैन । खाना पकाउँदा २४० डिग्री फरेनहाइटभन्दा कम तापक्रममा पकाउनुपर्छ ।

तेल–घिउ हावा नछिर्ने भाँडोमा सुरक्षित राख्नुपर्छ । ताप, हावा र प्रकाशको सम्पर्कमा आउँदा तेल–घिउ बिग्रन सक्छ । एउटै तेल बारम्बार पकाउन प्रयोग गर्नुहुँदैन ।

प्रशस्त शुद्ध र सफा पानी पिउनुपर्छ ।